
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई १ सय १० मतसहित निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी आशा थपलियाले ४१ र विश्वास रेग्मीले ९२ मत प्राप्त गरे ।
समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भए । नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस)का उपसम्पादक कमलकुमार बस्नेत १ सय ३९ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १ सय ४ मत प्राप्त गरे ।
यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने १ सय ३३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका ममता थापाले १ सय ८ मत प्राप्त गरे । समितिको सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित भए ।सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी) १ सय ४१, कमल धिताल (बाह्रखरी) १ सय ८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १ सय ४७, राजु बास्कोटा (क्लिकमाण्डु) १ सय ५९ र सीमा तामाङ (कान्तिपुर दैनिक) २ सय मतसहित निर्वाचित भए ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मेन्द्र झाले नवनिर्वाचितलाई प्रमाणपत्र वितरण गरेका हुन् । सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २ सय ६६ जना आबद्ध छन् भने अधिवेशनमा २ सय ४६ मत खसेका थिए ।