Aarthikaina
 दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानका अनुसार अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँले राजस्वमा वृद्धि भएको हो ।

प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा १७ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेकामा गत आव २०८१/८२ मा १९ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या रार्क राष्ट्रबाट ४७ हजार ३ सय ९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या एक लाख ५३ हजार २ सय ६२ जना रहेका थिए । 

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

त्यसैगरी, गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५ सय ३३ जनाले अवलोकन गरेकामा अन्य देशका एक लाख ६९ हजार ३ सय ९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन् । अघिल्लो आवभन्दा गत आवमा पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ ।

सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो । हाल उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि एक हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।

उक्त स्थान अवोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ देखि १२ः३० सम्म र साँझ ५ देखि ८ बजेको समय तोकिएको छ । हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक सात सयसम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ ।

यस वर्ष पनि ऐतिहासिक इन्द्रजात्रा नजिकिँदै गर्दा आशाअनुरूप पर्यटक आउने विश्वास रहेको बताइएको छ । उक्त स्थान र इन्द्रजात्राको एकैपटक अवलोकन गर्न पाउने भएकाले उक्त क्षेत्रमा इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन् । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौँ महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई पनि इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update