Aarthikaina
लगानीको वातावरण सिर्जना गर्ने मुख्य चुनौती कायमै  छ: चेम्बर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लगानीको वातावरण सिर्जना हुन नसक्नु अर्थतन्त्रका लागि मुख्य चुनौती भएको बताएका छन् । लगानीयोग्य रकम अधिक तरलता हुँदा समेत लगानी हुन नसक्नु र व्यापार व्यवसाय फस्टाउन नसक्नु आर्थिक समृद्धिका लागि बाधक रहेको अध्यक्ष मल्लले बताए । 

राष्ट्रिय व्यापार संघको साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले भने, ‘बैंक वित्तीय संस्थामा झण्डै पाँच खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बसेको छ, सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । अधिक तरलता भएर पनि लगानीको वातावरण बन्न सकेको छैन ।’

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

सरकारको पुँजीगत खर्च अपेक्षा अनुसारको हुन सकेको भए अर्थतन्त्र चलायमान हुने अध्यक्ष मल्लले बताए । बैंक वित्तीय संस्थामा उच्च व्याजदरकै कारण लगानी आर्कषित हुन नसकेको अध्यक्ष मल्लको भनाई छ । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिएपनि आन्तरिकतर्फ सुधार हुन नसकेको भन्दै उनले पुँजी चलायमान बनाउने गरी आर्थिक र वित्तीय नीति पुनरावलोकन हुनुपर्नेमा जोड दिए ।

पुँजीगत खर्च समयमै हुनेगरी समयवद्ध तालिका निर्धारण गर्नुपर्ने अध्यक्ष मल्लले बताए । उनले भने, ‘चालु आर्थिक वर्षको ७ महिना पुरा भईसक्दा समेत विकास खर्च २१ प्रतिशतमा सिमित छ । शुरुमा महत्वकांक्षी बजेट ल्याउने खर्च गर्न नसकेपछि संशोधन गर्ने परिपाटीलाई अन्त्य गरिनुपर्दछ ।’

साना तथा मध्यमखाले उद्योग व्यवसायमा ऋण विस्तार गर्नेगरी राष्ट्रबैंकले वित्तीय नीति ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । ‘आन्तरिक उत्पादन हुन नसक्दा व्यापार घाटा चालु आर्थिक वर्षमा ६ खर्ब ९३ अर्ब रुपैयाँ पुगिसकेको छ, अध्यक्ष मल्लले भने, ‘मुलुकको विद्यमान व्यापार घाटालाई कम गर्नका लागि कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार हुने गरी वित्तीय नीति अवलम्वन गर्न आवश्यक छ ।’ उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्न सकिए बेरोजगारी दरलाई केही हदसम्म नियन्त्रण गर्न सकिने अध्यक्ष मल्लले बताए । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update