Aarthikaina
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह

काठमाडौं । यस वर्षको विश्व स्तनपान सप्ताह शुक्रबारदेखि सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने यस सप्ताह आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने, नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले सुरु गरिएको हो ।

यो वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गर्दछ ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

यसै अवसरमा नेपाल मेडिकल कलेजमा पनि साताब्यापी कार्यक्रम राखिएको छ । कार्यक्रम सुरु गर्दै कलेजकी प्रबन्ध निर्देशक डा.सबिहा यासमिनले नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपान महत्वपूर्ण भएको बताइन् । विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उल्लेख गर्दै उनले भनिन्, ‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’

शिशु जन्मने वित्तिकै उसलाई पोषण चाहिने र त्यो पोषण आमाको दुधबाट मात्र प्राप्त हुने बताउँदै डा.सबिहाले आमाको दुधमा शिशुको लागि अपरिहार्य रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति समेत रहेको जनाउँदै स्तनपानकै कारण आमा र बच्चाबीच गहिरो माया बढ्ने बताइन् । यसका अलावा स्तनपानले स्तन क्यान्सर र पाठेघरको क्यान्सरको जोखिम पनि घटाउने भएकोले प्रत्येक घरपरिवारले स्तनपानको महत्व दर्शाउनु पर्ने बताउँदै प्रबन्ध निर्देशक डा.सबिहाले नेपाल मेडिकल कलेजले नियमित रुपमा स्तनपानको महत्व बारे सचेतना दिने उल्लेख गरिन् ।

कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्रा.डा.निलमणी उपाध्याय, कार्यवाहक मेट्रोन शान्ति गुरुङले स्तनपानको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा कलेजमा आएका सर्वसाधारणलाई पनि स्तनपानको महत्व बुझाइएको थियो ।

नवजात शिशुको प्रारम्भिक पोषण, विकास र रोग प्रतिरोधात्मक क्षमताको लागि स्तनपान अत्यन्त महत्वपूर्ण छ । आमालाई स्तनपान गराउन प्रेरित गर्ने र सहज बनाउने कुरालाई समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । स्वास्थ्यकर्मी, परिवार, कार्यस्थल र नीतिनिर्माताहरू सबैले मिलेर दीर्घकालीन रूपमा आमाहरूलाई स्तनपान गराउन सहज वातावरण बनाउन जरुरी देखिन्छ । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update