
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै उत्कृष्ट शिक्षा लिन सकिने बताएका छन् । डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले राम्रो शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको बताए ।
उनले यहाँका विद्यार्थी केबल शिक्षित मात्र नभएर सक्षम, दक्ष र प्रतिस्पर्धीसमेत भएको र स्वदेशमै उत्कृष्ट शिक्षा लिन सकिन्छ भन्ने उदाहरण यस क्याम्पसले प्रस्तुत गरेको बताए । कन्या बहुमुखी क्याम्पसले विशेष गरी महिला शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले विगत ४५ वर्षको यात्रा अत्यन्तै प्रेरणादायक रहेको बताए । स्थापनाकालमा ७७ विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले करिब ७ सय विद्यार्थीको शिक्षाको थलो बनेकाले आफैँमा एक ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो ।
यस क्याम्पसबाट अध्ययन गरेर विद्यार्थीले देशका विभिन्न आयोग, सरकारी निकाय तथा निजी क्षेत्रसम्म सफलतापूर्वक रोजगार पाएको तत्थ्याङ्कले देखाएकाले यहाँ अध्ययन गरेका विद्यार्थी सबै क्षेत्रमा उत्कृष्ट भएको आफूले महसुस गरेको उपप्रधानमन्त्री सिंहले बताए । साथै, उनले सरकार यस क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र प्राविधिक सशक्तीकरणमा आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसकी प्रमुख अपराजिता अर्यालले क्याम्पसले हाल विभिन्न चुनौतीका बाबजुद पनि शैक्षिकस्तरलाई उत्कृष्ट बनाउन सफल भएको बताइन् । उनले विविध चुनौतीबीच पनि क्याम्पसले देशभरिमा आफूलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनेतर्फ कदम चालेको बताइन् ।
कार्यक्रममा विद्यालय प्रशासनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको थियो भने केही प्राध्यापक र कर्मचारीलाई लामो समयको योगदानका लागि कदरपत्रसहित सम्मान गरेको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, शिक्षक, विद्यार्थीलगायत विभिन्न शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो ।