Aarthikaina
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्छ: नेसनल प्याब्सन

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले निजी विद्यालयहरूलाई कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष तथा संस्थापक गीता क्षेत्री राणा र महासचिव प्रताप थापाले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत संविधान, शिक्षा ऐन र कानुनको दायरामा रही सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नजिकिँदो कानुनी तथा प्रशासनिक दबाबका कारण शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने उल्लेख गरेका हुन् ।

उनीहरुले संविधानको धारा ३१ र ५१ ले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने र शिक्षा प्रणालीलाई वैज्ञानिक, रोजगारमुखी तथा जनमुखी बनाउनुपर्ने व्यवस्था गरिएकामा पछिल्लो समय निजी विद्यालयमाथि भइरहेको व्यवहार यसको विपरीत देखिएको बताएका छन् । विज्ञप्तिमा उल्लेख गरिएनुसार हाल नेपालमा ६६ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा र ३४ प्रतिशत विद्यार्थी निजी विद्यालयमा अध्ययनरत छन् । निजी विद्यालयहरूले सरकारको शिक्षा क्षेत्रमा पर्ने आर्थिक भार कम गर्नुका साथै गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको संस्थाको दाबी छ ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

विद्यालयहरूलाई तलब भत्ता, छात्रवृत्ति, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, घरभाडा, पानी, बिजुलीलगायत दैनिक खर्च व्यवस्थापनका लागि शुल्कमा निर्भर रहनुपर्ने बाध्यता रहेको र हाल १० प्रतिशत छात्रवृत्तिको प्रावधानबाट विद्यालयहरू थप आर्थिक संकटमा परिरहेको जनाइएको छ । “अभिभावकबाट उठ्न नसकेको शुल्कले गर्दा अधिकांश निजी विद्यालयहरू जर्जर अवस्थामा पुगेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनका लागि दिनरात मेहनत गरिरहेको भन्दै शुल्क वृद्धिको भार उनीहरूलाई पार्नु अन्याय हुने प्याब्सनको भनाइ छ । “यदि शुल्कबारे पुनः विचार र छलफल नभए निजी शिक्षाको गुणस्तरमा गम्भीर असर पर्न सक्छ”, विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा २५ मा सम्पत्ति आर्जन, भोग र व्यवसाय सञ्चालन गर्ने हक प्रत्याभूत गरिएकाले राज्यले निजी विद्यालयको व्यवसाय अधिग्रहण गर्न नपाउने संस्थाको तर्क छ । प्याब्सनले निजी लगानीमा सञ्चालन भइरहेका विद्यालयहरूलाई अप्ठ्यारोमा पार्ने निर्णय शिक्षा क्षेत्रको दीर्घकालीन हितमा नहुने बताउँदै विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update