Aarthikaina
एसइई उत्तीर्ण ८ सयलाई एकै पटक सम्मान

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट उत्तीर्ण भएका ८ सय विद्यार्थीहरू एकै पटक सम्मानित भएका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ प्रदेश सभा सदस्यहरू सरल सहयात्री र अमृत नेपालको समन्वयमा एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का विद्यालयहरूबाट एसइई उत्तीर्ण सबै विद्यार्थीहरूलाई एकै स्थानमा जम्मा गरेर शिक्षाविदहरुले आगामी शैक्षिक यात्राका लागि सुझाव समेत दिएका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

शिक्षाविद् विष्णुप्रसाद ज्ञवालीले अभिभावकहरुको इच्छा र चाहानामा भन्दा पनि विद्यार्थीहरूले आफ्नो क्षमता र रुचिको विषयहरू लिएर अध्ययन गर्न एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सुझाव दिएका थिए ।

प्रतिनिधिसभा-१ का सांसद माधव सापकोटाले आफ्नो क्षेत्रका सबै विद्यालयहरूमा सांसदसँग विद्यार्थी कार्यक्रम सञ्चालन गर्दे आइरहेका छन् ।

सासंदहरुको काम, संसदीय गतिविधि लगायत आफ्नो क्षेत्रका विकास निर्माण लगायत अन्य सवालहरूमा विद्यालयमा पुगेर अन्तर्क्रिया गर्ने र ससंदको गतिविधि समेत विद्यार्थीहरूलाई सासंद भवनमा नै लगेर प्रत्यक्ष रूपमा हेर्ने व्यवस्था गरिरहेको सापकोटाले बताए ।

आफ्नो क्षेत्रबाट एसइई उत्र्तिण सबै विद्यार्थीहरूसँग एकै स्थानमा भेटेर अनुभव साटासाट र विद्यार्थीहरूको अबको शैक्षिक यात्रा सुखमय होस भनेर सम्मान कार्यक्रमको आयोजना गरिएको सासंद सापकोटाले जानकारी दिए ।

त्यस्तै बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले क्षेत्र नम्बर १ का सबै विद्यालयहरूमा वृक्षमा विद्यार्थी समाजका लागि सहयात्री भन्ने अभियानका साथ एक विद्यार्थी एक बिरुवा कार्यक्रम सुरुवात गरेर विद्यालयहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन भइरहेको छ । विद्यार्थीहरूलाई हरियाली र वातावरण प्रति सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम प्रभावकारी भइरहेको सहयात्रीले जानकारी दिए ।

विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले विद्यार्थीहरू मार्फत नै समाज परिवर्तन गर्न सकिन्छ भनेर आफूहरूको समन्वयमा एसइई उत्तीर्ण क्षेत्रभरका विद्यार्थीहरूलाई सम्मान र आगामी शैक्षिक यात्राको बारेमा चिन्तन गरिएको सासंद सहयात्रीले जानकारी दिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट ८ सय ९५ विद्यार्थीहरू एसइइमा उत्तीर्ण भएका छन् ती मध्ये जम्मा पाँच जनाले ४ जिपिए ल्याएका थिए । चार जना बाल शिक्षा माध्यमिक विद्यालय खाडिचौर र एक रमा मावि लिसंखु पाखरका छात्रा ले ४ जिपिए ल्याएका छन् ।

बालशिक्षा माविकी छात्राहरू मेहन्दो तामाङ, स्मृति नेपाल, सुभेच्छा श्रेष्ठ र मेरिना तामाङ रमा माविबाट फुर्साङ लामाले ४ जिपिए ल्याएर उत्र्तिण भएका छन् । एसइई उत्तीर्ण सम्मान कार्यक्रममा सामाजिक रूपमा योगदान दिएका अन्यलाई समेत सम्मान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update