Aarthikaina
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको हो ।

आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको हो भने ‘लाइनिङ’को काम धमाधम अगाडि बढिरहेको र हालसम्म लाइनिङको काम आठ सय ३४ मिटर सकिएको छ । निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको छ । वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ । सुरुङमार्ग पाँच वर्ष अर्थात् २०८३ मा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँको लागतमा सुरु भएको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन सञ्चालन हुने गर्छन् ।

पाल्पा–सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि सरकारले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update