 
                                                                    काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति आपत्ति जनाएको छ । संघले प्रेस विज्ञप्तिमार्फत सो व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो ।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्षसमेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र संचालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताएका छन् । कुनै व्यवसायीले आफ्नो चल सम्पति बिक्री गर्न नपाउने परिस्थितीमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए । सेयर बिक्रीसम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने उनको भनाई छ ।
संघद्वारा जारी विज्ञप्तिका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार संगठित संचालकले पदमा बहाल रहदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक बर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउदछौं । कम्पनीमा कायम रहेका सबै सेयरधनी जस्तै संचालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउदछौं ।’
संचालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट संचालकहरुलाई बञ्चित गर्ने कार्य न्यायोचित नभएको संघले उल्लेख गरेको छ । संघको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति संचालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक बर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी संचालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौं ।’




 
             
             
             
            







 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            