
काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लका अनुसार कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरुलाई आकर्षक प्रतिफल प्रदान गर्ने भएको हो ।
२९औँ वार्षिक साधारणसभाबाट प्रभु इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर र वित्तीय उपलब्धिले बीमा क्षेत्रमा सकारात्मक सन्देश दिएको कम्पनीले जनाएको छ । यसले बजारमा लगानीकर्ताको विश्वास अझ मजबुत बनाउने अपेक्षा समेत गरिएको छ । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको अध्यक्ष मल्लको भनाई छ । उनका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ ।
ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेशन प्रविधि लागू गरिसकेको अध्यक्ष मल्लले बताए । डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरुलाई अझ सरल र प्रभावकारी बनाएको उनले जानकारी दिए । उनले. भने, ‘ग्राहकको सन्तुष्टि नै व्यवसायिक संस्थाको वास्तविक सफलता हो ।’
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले समाजसँग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पुर्याउने कार्यलाई प्राथमिकता दिएको मल्लले बताए । स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्रभु इन्स्योरेन्स सक्रिय रहदै आएको उनको भनाई छ ।