
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष एवं नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बीमा क्षेत्रलाई मजबुत बनाउन निजी र सरकारी क्षेत्र दुई सिक्काका दुई पाटा जस्तै सँगै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले प्रभु इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सव समारोहमा यस्तो बताएका हुन् ।
नीतिगत सुधारसँगै बीमा क्षेत्रलाई प्रविधियुक्त बनाउनुपर्नेमा अध्यक्ष मल्लको जोड थियो । उनले भने, ‘अबको बीमा प्रविधिसँग जोडिनुपर्छ, यसले पारदर्शिता र सेवा प्रभावकारिता दुबैमा सुधार ल्याउँछ ।’ नेपालको बीमा क्षेत्र दिनप्रतिदिन सुदृढ बन्दै गएको र आगामी दिनमा यो क्षेत्रलाई पूर्ण प्रविधिमैत्री बनाउन सकिए वित्तिय पारदर्शितासमेत कायम गर्न सकिने अध्यक्ष मल्लले बताए ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष समेत रहेका मल्लले कम्पनीका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस घोषणा गर्न सकिएको जानकारी गराए । उनले भने, ‘यो उपलब्धि कम्पनीको सेवा, पारदर्शिता र प्रतिबद्धताको प्रतिफल हो । हामी बीमितहरुप्रति अझ जिम्मेवार हुँदै आगामी दिनमा द्रुत र समयमै दाबी भुक्तानी गर्ने कुरामा प्रतिबद्ध छौं ।’
“बीमा गरौं ढुक्क बनौं”, भन्ने नारालाई व्यवहारमा उतार्नका लागि प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको अध्यक्ष मल्लले बताए । उनले बीमा भनेको पीडा, विपद् र जोखिमका समयमा सेवा गर्ने क्षेत्र भएको विश्वास सबैलाई दिलाउन जरुरी रहेको बताए । साथै, उनले बीमा सेवालाई गाउँगाउँ पुर्याउने र आम सर्वसाधारणलाई बुझ्ने भाषामा बीमाको महत्वबारे बुझाउन जरुरी रहेको बताए ।