 
                                                                    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नवनियुक्त राजदूतहरुलाई सुझाव दिएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुलाई नेपालमा लगानी भित्र्याउन तथा निर्यात सहजीकरणमार्फत आर्थिक कुटनीतिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरिएको हो ।
सो अवसरमा नेपालको दिगो आर्थिक विकास र समुन्नतिका लागि आर्थिक कुटनीति महत्वपूर्ण भएको चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उनले नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश विश्व समुदायलाई दिन राजदूतहरु समक्ष आग्रह गरे । उनले भने, ‘वैदेशिक लगानीका लागि प्राकृतिक दृष्टिकोणले नेपालमा प्रचुर सम्भावना रहेको छ । नेपालले भर्खरै अन्तर्राष्ट्रिय एजेन्सीबाट सार्वभौम कन्ट्रि रेटिङ प्राप्त गरेको छ, लगानीको दृष्टिकोणले दक्षिण एसियामा भारतपछि दोस्रो बीबी माईनस स्थान प्राप्त भएको छ । यसले विदेशी लगानी भित्र्याउन ठूलो सहयोग पुग्ने भएको छ ।’
नेपालमा लगानीको प्रतिफल सुनिश्चितता गर्नका लागि सम्बन्धित निकायमा चेम्बरले सधैँ पहल गरिरहेको अध्यक्ष अग्रवालले बताए । उनले नेपाल झल्काउने व्यापार प्रर्दशनी गर्न एवं लगानीयोग्य क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । उनले सम्बन्धित देशसँग बीटुबी मिटिङ तथा लगानी र व्यापार सहजीकरणका लागि दुई पक्षीय सम्झौताका लागि पहल गर्न समेत आग्रह गरे । नेपालको जलविद्युत, पर्यटन, खानी जस्ता क्षेत्रमा लगानीका लागि ठोस पहल हुनुपर्ने उनको भनाई थियो । राजदूतहरुलाई स्वागत गर्ने क्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालको पर्यटन क्षेत्रलाई प्रर्वद्धन गर्नुपर्ने बताए । उनले नेपालको आईटी र जलविद्युत क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रर्वद्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न देशका राजदूतहरुले आफुले प्रतिनिधित्व गर्ने देशका निजी क्षेत्रसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए । आर्थिक कुटनीति आफुहरुको प्राथमिकतामा रहेको राजदूतहरुले सामुहिक प्रतिवद्धता जनाए । कार्यक्रममा बेल्जियमका लागि नवनियुक्त राजदूत सेवा लम्साल, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, रुसका लागि डा.जंगबहादुर चौहान तथा दक्षिण अफ्रिकाका लागि कपिल मान श्रेष्ठ, पोर्चुगलका लागि नवनियुक्त राजदूत प्रकाशमणि पौडेल, श्रीलंकाका लागि डा.पुर्णबहादुर नेपाली, मलेसियाका लागि डा.नेत्रप्रसाद तिम्सिना र स्पेनका लागि नवनियुक्त राजदूत सनिल नेपालको उपस्थिती रहेको थियो ।




 
             
             
             
            







 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            