
काठमाडौं । नेपाल आइडल सिजन–६ को विजेता गङ्गा सोनाम भएकी छन् । हिजो साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन् ।
विजेता सोनामले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी, बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए । विजेतालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कार वितरण गरेका थिए । मन्त्री गुरुङले नेपाल आइडल नेपालको हिरो कार्यक्रम भएको बताए । यस प्रतियोगिता सुरु भए पछि अन्य नयाँनयाँ प्रतियोगिताहरु सुरु भएको भन्दै उनले नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रुपमा रहने बताए ।
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले अति महत्त्वपूर्ण कार्यक्रममा विजेता हुने सबैलाई बधाई दिँदै ठूलो कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे । एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यले छ वटा सिजनसम्म पुग्दा नयाँनयाँ प्रतिभाहरुको जन्म भएको उल्लेख गरे ।
समारोहमा पूर्वमन्त्री शेरबहादुर तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, एपी वान टेलिभिजनका अध्यक्ष राजेन्द्र शाक्यलगायतको उपस्थिति थियो । २०८२ जेठ २ गतेदेखि सुरु भएको नेपाल आइडल सिजन-६ को मुख्य निर्णायकमा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद रिजाल छन् ।