 
                                                                    काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुलवाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वर्ल्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न एक सय २१ देशका तीन हजार चार सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुलवाल’ले पहिलो स्थान हासिल गरेको छ ।
रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म सो चलचित्र महोत्सवको आयोजना गरिएको थियो । फाईनल चरणमा अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी रहेको थियो । नेपालको तर्फबाट ‘द स्कूलवाल’ पहिलो स्थानसँगै भारत दोस्रो र अमेरिकाले तेस्रो स्थान प्राप्त गरेको थियो ।
बाल मनोविज्ञानमा आधारित लघु चलचित्र ‘द स्कुलवाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्बाबेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा छनोट भएको थियो । ‘द स्कुलवाल’ काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो ।
लघु चलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीताश्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाललगायतका कलाकारहरुको अभिनय रहेको छ । लघु चलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् ।
‘द स्कुलवाल’मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघु चलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको छ । काठमाडौंमा छायांकन गरिएको लघु चलचित्रको दृष्य नारायण जिसीले खिचेका हुन् । लघु चलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिलकुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ ।
ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघु चलचित्र ‘द स्कुलवाल’ को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनले यसअघि निर्माण गरेका लघु चलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ । उनी अहिले नयाँ सर्टफिल्म ‘दृश्य’को तयारी गरिरहेको बताउँछन् । एक सटमा खिचिएको ’घुर्रा’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड समेत प्राप्त गरेको थियो ।
रसियाको फेस्टिभल आयोजक टीमबाट कार्यक्रममा सहभागी हुनको लागि निमन्त्रणा आएसँगै रसियन एम्बेसीले भिसा पनि दिएको तर रसिया युक्रेन युद्धको कारण नेपाल सरकारले नै नेपालीहरुलाई रसिया प्रवेशको लागि रोक लगाएकोले कार्यक्रममा सहभागी हुन नपाएको निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् । परराष्ट्र मन्त्रालय पनि गएको तर परराष्ट्रले पहिलो पटक रसिया जानेलाई एनओ सी उपलब्ध नगराउने भन्दै नदिएको उनी बताउँछन् । सरकारले सहयोग नगरे पनि देशको प्रतिनिधित्व गर्न पाएकोमा गर्व लागेको उनी बताउँछन् ।




 
             
             
             
            







 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    -1756655974.jpg) 
                     
                     
                     
                     
                     
             
             
             
             
            