Aarthikaina
मधेशी एकता समाज कतार शाखाद्वारा वृहत् सांस्कृतिक कार्यक्रम

काठमाडौं । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बैशाख १४ गते शुक्रबारको दिन समाजको कतार शाखाले दोहाको सनैयास्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा भव्य कार्यक्रम आयोजना गरेको हो । 

कतार शाखाका अध्यक्ष शिव कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने समाजका संस्थापक डा.रवीन्द्र कुमार यादव र कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिका साथै पत्रकार एवं वुद्धिजीविहरुको पनि बाक्लो उपस्थिति थियो ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राखेका थिए । नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तीन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट कतारमा सबैभन्दा धेरै नेपाली दाजुभाई रहेको बताए ।मधेशका दाजुभाई नेपालबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउदै कार्यवाहक राजदूत राईले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गरे ।  आफू मध्यपहाडी भेगको भएपनि मधेसप्रति अत्यन्तै माया र सम्मान रहेको बताएका थिए । 

समाजका संस्थापक डा.यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवं देश र मधेशको विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताए । यस्तै, मधेशको सामाजिक विकृति विसंगति उन्मूलनमा योगदान, मधेशीमा आत्मनिर्भरताको विकास र मधेशी परम्पराको संरक्षणलगायतका कार्यहरु पनि एकता समाजको लक्ष्य रहेको डा.यादवको भनाइ थियो ।  

कार्यक्रममा सहभागी हुन कतारभरिबाट सयौंको संख्यामा मधेशी समुदायका व्यक्तिहरु दोहा पुगेका थिए । सो अवसरमा उनीहरुले एकअर्कालाई शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा तराई–मधेसका सांस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।  र, अतिथिदेखि सहभागीहरुलाई तराई–मधेसको सांस्कृतिक खानाका परिकारले स्वागत गरिएको थियो । 

कार्यक्रममा नेपाली राष्ट्र गानाबाट सुरु भएको कार्यक्रममा समाजको कतार शाखाका कोषाध्यक्ष गौतम शर्माले स्वागत मन्तव्य राखेका थिए भने कतार शाखाका महासचिव चन्द्रवीर यादवले कार्यक्रम सञ्चालन गरेका थिए । उनले मन्तव्यका क्रममा निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित भएका सबैलाई नयाँ वर्ष, जुडशीतल र ईद उल फित्र पर्वको शुभकामना दिएका थिए । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update