Aarthikaina
‘घरकी फूलबारी’ सार्वजनिक, बाल चेतनामा देशप्रेमको बीउ रोप्ने प्रयास

काठमाडौं । बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको प्रेरणादायी गीत हो ।

काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता इ.प्रमोद खतिवडाले लेखेका हुन् । सडक विभागमा कार्यरत इञ्जिनियर प्रमोद पेशाले प्राविधिक भए पनि साहित्य र संगीतप्रतिको अभिरुचिका कारण उनका कलमबाट यसअघि पनि विभिन्न भावनात्मक गीतहरू जन्मिइसकेका छन् ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ । निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन् । भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका रमणीय स्थलहरूमा छायांकन गरिएको छ ।

सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ । राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ । गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पणलाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ ।

यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’को उपाधि जितेकी थिइन् । गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ ।

‘घरकी फूलबारी’ परिधी खतिवडा नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको यस गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ ।

https://www.youtube.com/watch?v=BvIHsI5hNtw

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update