Aarthikaina
आँखा र मिर्गाैला दान

धेरै वर्षपछि झलकबहादुर लिम्बु र बुद्धिबहादुर थापा मगरको भेट भयो । बालसखा, स्कूलदेखि कलेजसम्म सँगै पढि बीए पास गरेका । सुख दुःखका कुरा साटासाट हुने नै भयो । झलक ! के छ घरमा ? बा, आमा, भाउजु र छोराछोरी सबैलाई आरामै छ, हैन ? बुद्धिले सोध्यो ।

बा खसिहाल्नु भो । अरु सबैलाई सन्चै छ । बरु तेरो के छ नि ? सबैलाई सन्चै छ, हैन ? झलकले पनि सोध्यो । मेरो पनि बा खसिहाल्नु भो । अरु सबैलाई ठीक छ, बुद्धिले भन्यो । के भएर खस्नु भो त बा ? झलकले सोध्यो ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

अचानकै खस्नु भो । छाति दुख्यो छाति दुख्यो भन्नु भो । अस्पताल त पुर्यायौं तर धेरै बेर बाँच्नु भएन । दानी बुडा, मर्ने बेलामा पनि मलाई भन्नु भो ‘छोरा ! मेरो आँखा नेत्रज्योति अस्पताललाई दान गरिदिएस् है । त्यो अस्पतालले मेरा मोतीबिन्दु भएका दुबै आँखा अपरेसन गरेर फेरि यो संसार देख्ने बनाइदियो । देख्ने भएपछि त्यही अस्पतालको बोर्डमा ‘आँखादान महादान’ लेखेको पढें । आफू मरे पनि आँखा हत्तपत्त मर्दा रैनछन् । मेरा दुबै आँखा राम्रोसँग नदेख्ने दुई जनालाई दान गर्दा कति ठूलो पुण्य कामइने रहेछ । दान गरिदिएस है छोरा ।’ हामी परिवारले पनि बाको इच्छा पूरा गर्न नेत्रज्योति अस्पताललाई नै बाका आँखा दान गर्यौ बुद्धिले भन्यो ।

बुद्धि ! बाका आँखा त दान गरेछौं । राम्रै गर्यौ । झलक भन्दै गयो–हेर, एक दिन म पनि आँखा जचाउन त्यै नेत्रज्योति अस्पतालमा गएको थिएँ । पालोमा बस्ता दुई जना बुढा आपसमा गफ गर्दै थिए । एउटा बुढाले भन्यो ‘के गर्नु हजुर ! एउटा आँखा फेरेको तीन लाख पर्यो । तीन लाख परेपनि एउटै आँखाले भएपनि राम्रोसंग देख्ने चाहिँ भएँ । अर्को बुढाले थप्यो–मेरो पनि त एउटा आँखा फेर्न तीन लाख पर्यो । यहाँको रेटै तीन लाखको रैछ । अन्धो हुनुभन्दा तीन लाख नै सही, देख्ने त भएँ ।’

बुद्धि ! मेरा बा खस्ता पनि त सरकारी अस्पतालको एक जना डाक्टरले मलाई भने ‘हेर्नोस् तपाईंको बा त बितिहाल्नु भो तर उहाँका दुबै आँखा र दुबै मिर्गौला अहिलेसम्म काम लाग्ने अवस्थामा छन । तपाईंले दान गर्नुभयो भने दुई जनाले फेरि यो संसार देख्न पाउनेछन र दुई जना मिर्गौला पीडितले पुनर्जीवन पाउने छन । यति बुझ्नुस्, एक जना बाले चार जनाको कल्याण गर्नु हुनेछ । के गर्नुहुन्छ ?’ मैले पनि बा त गैहाल्नु भो, चार जनाको कल्याण हुन्छ भने किन दान नगर्ने भनी, हुन्छ भनें’, झलकले भन्यो ।

ती डाक्टरले तुरुन्तै नेत्रज्योति अस्पताल र जीवनदायी अस्पताललाई फोन गरे । आँखा र मिर्गौला लिन सम्बन्धित डाक्टर पनि आइहाले । अनि बुद्धि ! मेरा एक जना साथीका बा मिर्गौला पीडित थिए र बेलाबखत डाइलेसिस गराइ रहनुपर्ने हुनाले जीवनदायी अस्पतालमै भर्ना थिए । संयोगबस् मलाई पनि साथीसंगै उसका बालाई हेर्न जाने मौका पर्यो । कुरैकुरामा साथीले मलाई भन्यो झलक ! एक दिनको कुरा हो, ब्यापारीजस्ता देखिने दुई जना कुरा गर्दै थिए, एक जनाले भन्यो ‘आमिर शेख ! भारतमा भए एउटा मिर्गौला फेर्नलाई भारु २० लाख पथ्र्यो, यहाँ नेपालमा भने १५ लाखमै काम बन्यो र मेरो छोराको मिर्गौला फेर्ने काम पनि भगवानको कृपाले सफल भयो ।’

‘धनपत सेठ ! अल्लाह मालिक । मेरो छोराको पनि राम्रैसंग मिर्गौला फेरियो । नेपालमा पनि जीवनदायी अस्पतालले मिर्गौला फेर्ने काम गरेकोमा हामी नेपालीको धेरै पैसा र समय जोगिएको छ । नत्र पैसाको मुख नहेरिकन भारतमै जान कर लाग्थ्यो’, आमिर शेखले भन्यो ।

अनि ती साथी भन्न थाले ‘झलक ! मैले कताबाट १५्र लाख जस्तो यति ठूलो रकम जुटाउनु र बाको मिर्गौला फेर्नु । धनपत सेठ र आमिर शेख जस्ता ब्यापारीका लागि १५/२० लाख रुपियाँ भनेको फास्स न फिस्स ।’ अनि बुद्धि ! म झसँग भएँ । हामीले दान गरेका आँखा र मिर्गौला अस्पतालले कसरी बेच्दा रहेछन्, झलकले भन्यो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update