Aarthikaina
मान्छेलाई परिचयले होइन, परिस्थितिले चिनाउछ

कसैसंग भाग्ने तर्कने लुक्ने भनेको आफनो कमजोरी छोप्ने ज्यादै कम्जोर कला हो । भागेर होइन डटेर, लुकेर होइन अगाडी परेर मात्र हामीले हाम्रो जिवन सार्थक बनाउन सक्छौ ।  भगवान वा भुसुनाहरु पनि तपाई हामी जस्तै मात्र हुन, त्यो भन्दा चमत्कारी र अदुभुत छैनन् र हुँदैनन् पनि, त्यसोभए अरु मानिसहरुको त के मतलब भयो र ।

चौधौं शताब्दिका राजनैतिक दार्शनिक निकोलो मेकियावेलि भन्छन, मानिस स्वाभावैले कामुक, निच, पतित, दुष्ट, अपराधि, इर्ष्यालु, घमण्डी, असामाजिक, स्वार्थी, आरिसे, गफाडी, हाउडी, असत्य, विकृत स्वाभाव आदि गुण भएको हुन्छ । धर्मकर्म, न्याय, सामाजिक काम, सहयोग, सद्भावना, दान, पुण्य, किर्तन भजन आदि उसले समाजलाई देखाउन लोकाचार  मात्र गरेको हुन्छ । संसारको सबै कुराहरुको सर्वोच्चता मेरो अधिनमा रहोस र म बाचुन्जेल संसारको शक्तिशाली साम्राट अधिपति बनेर दुनियाँलाई शासन गरौ भन्ने भावना सबै मानिसहरुमा जिजिविसा भएर बाँचि रहेको हुन्छ, चाहे उ समाजमा दास वा मालिक किन नहोस । महिला वा पुरुष नै किन नहोस । एउटा मानिस भित्र सरलता भन्दा जटिलताहरुको नै भारी उपस्थिती रहेको हुन्छ । त्यसैले यस संसारमा कोहि मान्छे ठिक र कोहि मान्छे बेठिक हुन्छन भन्नु भन्दा उसको प्रकृतिक स्वाभावलाई हेरेर व्यवहार गर्नु राम्रो हुन्छ । बाघ र गाईलाई एउटै व्यवहार गरियो भने हामीलाई ठुलो क्षति पुग्छ ।

हामी बढि जाडो वा बढि गर्मी छ भनेर भन्छौ । अथवा हाम्रो शरिरले चाहेको तापक्रम भन्दा यिनीहरु बेठिक भए । हामी हवाइ जहाजमा बस्दा कुटनीतिक श्रेणी वा आर्थिक श्रेणीमा बसेर यात्रा गर्न पाए खुशि हुन्छौ । तर मनले भित्रैबाट नमाने पनि  सधैं साधारण श्रेणीबाट यात्रा गर्नु परेको छ । रेल वा बसको यात्रामा पनि हामी भरसक सुपर डिलक्स सिट खोज्छौ । हुन त अरु पनि सिटै हुन । रेलले साधारण सिट र डिलक्स सिटका व्यक्तिलाई एकैचोटी गन्तव्यमा पुर्याउने हो । तर डिलक्स सिटसंग आनन्द जोडिएको छ । मान्छेको शरिरले थोरै वा धेरै आनन्द अनुभव गरो वा आनन्द पायो भन्ने सन्दर्भमा फ्रान्समा एउटा परिश्रम गरिएको छ । त्यसमा मान्छेले तिर्खाको बेला पानी पिएको भन्दा पिसाबले च्यापेर पिसाब फेरेको बेलाको आनन्दमा २ सय गुणा बढि शरीरले आन्नद अनुभुति गरेको छ । यस्तै भोकाएको बेला खाएको आनन्द भन्दा बसको यात्राबाट फर्किएर वाथरुममा दिशा गरेको आनन्दमा पनि ३ सय गुणा बढि आनन्द अनुभुति गरेको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

तपाई शरीरलाई आराम वा न्यानो चाहिएको छ भन्ने विषयमा  आज जाडो छ भन्ने स्वीकार्नु हुन्छ ? तपाईले गरेका साना साना कुराहरु बताउदा अरुलाई ढाट्नु हुन्छ । तपाईका गल्तिहरुको हालत कति होला । तपाईले आफ्ना दोषहरु कति लुकाउनु भएको छ होला । तपाईका गल्तिहरु बोल्ने भए आज के हुन्थ्यो होला । हामी आफ्नो दोष स्वीकार्न र सत्य बोल्न चाहदै चाहदैनौं । हामी जस्तो छौ त्यो हामी कदापी स्वीकार्न सक्दैनौ । वास्तवमा म जस्तो छु त्यस्तै देखिनु पर्छ । हामी सबै कुरामा स्वाङ्ग पार्छौ । विहेका पाटीमा थोरै लुगा लगाउने केटीहरुलाई जाडो छैन भनेर सोध्दा उनीहरु जाडो छ भनेर कदापी स्वीकार गर्दैनन् । हामी आफु जे होइन त्यो देखाउन चाहान्छौ । हामी एउटा छौ तर अर्को बन्न खोज्छौ । यसरी हामी भित्रै दुइटा स्टेण्डरको कमाल छ । अथवा हामी आफैमा सारा जिन्दगी अन्तर विरोध बोकेर बसेका छौ । हामी एउटा दोष लुकाउन अर्को गल्ति गर्छौ । यसरी एक पछि अर्को गर्दै हामी गल्तिका दलदलमा फस्छौ ।

तपाई आफैलाई सधै निर्दोषी बनाउनोस न ।  यसो गर्न यो दोष मेरो हो भन्न सक्नु पर्छ । आफुलाई आफु जस्तै बुझनु पर्छ । अप्रमाणिक जिन्दगी जिउन कदापी लायक हुँदैन । आफुले आफैलाई चिन्ने संस्कृति बनाउनु पर्छ । नेपालका डक्टरहरुसंग बात मार्दा भन्छन:  हामी बिरामी जाँच्दछौ, साल्यक्रिया पनि गर्छौ । यि काम गर्दा आफैसंग धोका गरे जस्तो लाग्छ  । किनभने यि कामले म आफुलाई नै सम्मान गर्दिन, तर अरुले मलाइ गर्छन म आफै छक्क पर्छु । मेरा लागि यि सम्मानहरु अनावश्यक छन । वास्तवमा म अर्कै मान्छे बन्न चाहान्थे । तर म अरुका कारणले मात्र डक्टर बनेको हो । म टाइपिस्ट डक्टर मात्र हुँ अथवा मेसिनले दिएको काम गर्छु । जिन्दगीमा म नमिठोसंग चुके । म आफुलाई नबुझि नबुझि बाँचिरहेको छु । हो यस्तै हामी अरु जनाहरु पनि अरुका लागि श्रीमति बनेका छौ, अंकल बनेका छौ, हाकिम बनेका छौ, पुलिस बनेका छौ, नेता बनेका छौ, प्रोफेसर बनेका छौं तर वास्तवमा हामी केहि पनि होइन र अरुको सम्मानबाट हामी नै लज्जित बनेका छौं । हामीहरु आफैमा आफ्नै लागि उध्रिएर, फुलेर, फक्रिएर सुवास निकाल्न सकेमा मात्र जिन्दगीमा सबैखाले प्राप्ति स्वत: पाइन्छ । 

तपाईले आफ्नो मनलाई कस्तो खुराक खुवाउनु भएको छ तपाई त्यस्तै बन्नु हुन्छ । हामी सधै भन्ने गर्छौ, फलानो खराव हो, उसले गर्दा यस्तो भयो, उस्तो भयो नत्र कति राम्रो हुन्थ्यो आदि । अथवा अरुको ऐनामा हेरेर हामी हाम्रा सोच, विचार, व्यावहार, काम आदिलाई नियाल्छौ तर आफ्नो सोचाइमा कहिल्यै  सुद्धिकरण गर्दैनौ । यसरी शुद्धिकरण नगरिएर हाम्रा मन विचार र कर्म नै व्याभिचारमा फसेका छन । हामी सधै यति सानो गल्ति गर्नु त ठिकै हो नी, के पो विग्रन्छ र भन्छौ । सधै अरुको रिस डाहा आरिस कुभलो चिताइरहेका हुन्छौ । मानौ हामीसंग सकारात्मकता भन्ने नै छैन ।  हामी आफुलाई अरुले ठिक ठहराउन भन्ने नाममा हाम्रा बानी व्याहोराहरु बिगारिरहेका छौ । सधैं नकारात्मक र जालझेलको भावनाले मान्छेमा निराशा उत्पन्न गराउँदछ भन्ने मनोवैज्ञानिकहरुको निष्कर्ष छ । धोविले मैलो लुगा धुएर सफा बनाउँछन । तर फोहोरमा बस्नेले धोबिको लुगा महिलो देख्छ । अथवा अरुको दृष्टिमा होइन आफ्नै दृष्टिमा सफाइ गर्नुपर्छ ।

नव विबाहित दम्पतिमध्ये श्रीमतिले पल्लो घरको छतमा लुगा सुकाइरहेकी आइमाइलाई झयालबाट हेर्दै श्रीमानसंग भन्छे, त्यो आइमाइले कति फोहोर लुगा सुकाइरहेकी छ । सायद साबुन खराब थियो कि, अथवा ढाड दुखेर राम्ररी धुन पो सकिन कि, अथवा आइमाइ अल्छे हो कि वा किन त्यति नराम्रा लुगा सुकाएकि होलि । ३, ४ पटकसम्म लुगा सुकाउँदा ति नयाँ श्रीमतिले लुगा सुकाएकोमा गुनासो मात्र गरीन । एक दिन चाहि ति नयाँ श्रीमति भन्छे आहा आज त कति सफा लुगा धुएर सुकाइछ । साहेद अरुले नै पो धोइ दिए कि ? अब श्रीमान भन्छन: सधै जस्तो आज पनि लुगा उसैले धुएको हो, सधै यस्तै सफा बनाएर नै उनी लुगा धुन्थिन । तर हिजो तिमी माइत गएका बेला मैले हाम्रो यो झ्यालको सिसा राम्ररी पुछेर सफा बनाएको थिए । अस्तिसम्म यि झ्यालमा कसिंगर जमेको थियो । अब झ्याल सफा छ र छिमेकिले सुकाएको लुगा सफा देखिएको हो । हो यस्तै, तपाईको चित्तको ऐना कस्तो छ । तपाई कस्तो हेर्न चाहानु हुन्छ, संसार त्यस्तै देखिन्छ ।

हामी राम्रो बन्न आफैसंग सम्बाद गर्नुपर्छ । त्यसलाई कसरी राम्रो बनाउने भन्नेमा लाग्नुपर्छ । कलाकारले कसरी त्यति राम्रो चित्र बनाउने साहास गरे होला भन्ने मनन् गर्नुपर्छ । कलाकारहरुको सौन्दर्य निकाल्ने सहास कस्तो होला । कलाकार कति सकारात्मक सोचमा छ । के तपाई अब बाहिर कठाग्रिएका रुखसंग बात मार्न चाहानु हुन्छ । ति कठाग्रिएका रुखहरु जाडोसंग बात मारिरहेका छन र भन्दैछन, तिमीले हाम्रा पुराना खराब पातहरु लैजाऊ, हामी ति जान साथ नयाँ पालुवाहरु ल्याइहाल्छौ । अथवा रुखहरुले जाडोसंग सिरक माग्दैनन् । तर तपाईले जाडोलाई पठाएका एसएमएसहरु तपाईका ह्रदयका गितहरु होइनन् । ति त छलकपटका आसय मात्र हुन । तपाई जाडोलाई आगो बालेर, सिरक भित्र पसेर तर्साउदै हुनुहुन्छ । भनेको के हो भने आफ्नो चित्त सफा पारियो भने मनमा प्रसन्नताहरु लटरम्मै फल्छन ।

हामीसंग संसारमा सधै राम्रो मात्र हुन्छ भन्न सकिदैन । आजको दिनमा पनि कति हो कमि कमजारीहरु भएका छन । तर पनि यो संसार सधै राम्रो मात्र बनाउन लाग्नु पर्छ । संसारमा १ दिनमा नै  कति हो कति घटना घटिरहेका हुन्छन् । साच्चै १ दिनमा सबै गरी कति घटना घट्छन होला ? अथवा सबै कुराहरु मान्छेको नियन्त्रणभन्दा बाहिर नै छन । यहाँ कसैले गरेको गल्तिहरुले हामीलाई असर गरिरहेको छ । हुन त तपाई हाम्रा कामहरुले पनि अरुलाई जानी नजानी दुखित बनाएका होलान । हिलो र फोहोर पानी भित्रैबाट आएको कमलको फुल कति राम्रो छ । यस्तै हामीसंग पनि ससाना राम्रा कुराहरु संगै छन र धेरै छन । हामीले राम्रा कुराहरु अरुलाई नदेखाएको मात्रै हो । यथार्थमा संसारमा राम्रा कुराहरु मात्र छन । तपाईको मनको क्यामरा कस्तो छ त्यसमा नै संसारका सबै कुराहरु भर पर्छन ।

हामीले जिवनमा रङ्गहरुको सन्तुलन देखाउन सक्नुपर्छ । दुर्गालाल श्रेष्ठले रचेको गित फुलको आँखामा फुलै संसार भने जस्तै । अमेरिकामा आतंककारीहरुले मारेको भन्दा बारुलाले टोकेर धेरै मान्छेहरु मर्दा रहेछन् । नेपालमा पनि वर्षमा क्यान्सरले भन्दा झाडा पखलाले वढि मान्छेहरु मर्दा रहेछन । तर अमेरिकामा आतंकवादी र नेपालमा हामी क्यान्सरसंग बढि डराएका छौ । अथवा साचो कुरा देख्नलाई क्यामराको लेन्सलाई सफा कपडाले पुछिरहनुपर्छ र सधै सफा र रामो फोटो आउछ । चाँदिको टुक्रा आगोको रापमा छोड्दा खरानी बन्छ, त्यसो भए कसरी शद्ध पार्ने त चाँदी भन्ने प्रश्न चाँदी बनाउने कालिगढलाई सोध्यो भने उसले भन्छ: चाँदी तबसम्म मात्र तताउनु पर्छ जब चाँदीमा आफ्नो अनुहार देखिन छाड्छ । बढि तताएमा चाँदी खरानी बन्छ । संसारमा राम्रोबाटै मात्र राम्रो गर्न सकिन्छ र त्यो मात्र राम्रो हुन्छ । महा मसानले भनेका थिए: बलबानहरुलाई बलले नै हराउनु पर्छ । विर मसानले भनेका थिए: विद्धानहरुलाई बुद्धिले नै गिराउनु पर्छ । बल र बुद्धिको सन्तुलनले मात्र संसार राम्रो बनेको छ ।   — डा.तिर्थराज लुइटेल (विज्ञ: राजनीति मनोविज्ञान)

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update