Aarthikaina
निर्माण व्यवसायी महासंघद्वारा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नतिरेको भन्दै ठुला उद्योगीहरूको बिजुली काट्न थालेकाले त्यसको प्रतिकूल प्रभाव निर्माण उद्योगमा पनि पर्ने भएकाले यस्तो माग गरेको हो ।

महासंघका महासचिव रोशन दाहालले एक विज्ञप्ति जारी गरी मुख्य औद्योगिक कोरिडोरहरूमा ठुला उद्योगहरू बन्द हुँदा हजारौँ मजदुर बेरोजगार हुने र  त्यसको असर निर्माण उद्योगमा पनि पर्ने उल्लेख गरेका छन् । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएका कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको अवस्थामा यसरी उद्योगहरू समेत बन्द हुँदा निर्माण उद्योग थप मारमा परेको विज्ञप्तिमा उल्लेख छ ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

उद्यमीहरू नियमानुसार उपभोग गरेको विद्युत्को बाँकी बक्यौता तिर्न तयार हुँदाहुँदै प्राधिकरणले हठात् लाइन काटेको भन्दै राज्य आफ्नो अभिभावकीय दायित्वबाट पछि हटेको हो कि भन्ने महसुस भएको महासंघले जनाएको छ ।

प्रधानमन्त्रीले नै उच्चस्तरीय समिति बनाएर समस्याको निकास दिने र महसुल निर्धारण आयोगको सुझावअनुसार महसुल असुल गरिने बताइरहँदा प्राधिकरणले धमाधम लाइन काटेर उद्योग बन्द गर्नु न्यायोचित नभएको महासंघको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update