Aarthikaina
‘जिएसाइ’मा समर्थन नगरेको, लिपुलेक हाम्रो हो भनेर चीनलाई प्रष्ट्याएको र भारतसँग पनि त्यसरी नै कुरा गरिने: प्रधानमन्त्री ओली

काठमाडौं । चीनको ग्लोबल सेक्युरिटी इनिसियिटभ (जिएसआई)मा नेपालले समर्थन गरेको भनेर कतिपयले विरोध गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जिएसआईमा कुनै समर्थन नगरिएको बताएका छन् । ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ओलीले यसबारे जानकारी गराएका हुन् ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी(एमाले) पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन र भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति जनाएको बताएका छन् । यही भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा आफूले असहमति राखेको उनले प्रष्ट्याएका छन् । र, यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको बताएका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

उनले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङसँगको दिपक्षीय औपचारिक वार्तामा मैले अरु कुराहरुसँगै लिपुलेक सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिमाथि, हाम्रो भूमिबाट व्यापार आदानप्रदान गर्ने भन्ने सम्झौता दुई वटा देशले गर्न मिल्दैन । त्यसकारण यसमा हाम्रो असहमती रहेको छ भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु । यो कुरा अडियो, भिडियोमा रेकर्डेड पनि छ ।’ जबाफमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको प्रधानमन्त्री ओलीले बताएका छन् । 

भारतसँग पनि यसबारेमा प्रष्ट्याउने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस सन्दर्भमा भारतसँग पनि कुरा गर्छौ र हामीले यो समस्याको समाधान गर्नुपर्ने भनेको भारतसँग नै हो ।’

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update