
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा ‘रोड टू आईपीओ’ नामक कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरेका थिए ।
विशेष गरि उक्त कार्यक्रम कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । सिईओ पाँडेले आईपीओको महत्वको प्रकाश पार्दै यसले कम्पनीको दीर्घकालीन रणनीतिलाई आकार दिइ पुँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए ।
पायोनियर ल एशोसिएट्सका म्यानेजिङ पार्टनर अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारेका थिए । एनआईएमबी एस क्यापिटलका डीसीईओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्कासन विधिहरु, पुँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुको बारेमा चर्चा गरे ।
इक्रा नेपालका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने जानकारी गराएका थिए । साथै, उनले यस पहलकदमीमार्फत एनआईएमबी एस क्यापिटल र पायोनियर ल एशोसिएट्सले वित्तीय साक्षरता प्रवर्द्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने र नेपाली व्यवसायहरुलाई सूचीकरणमा जानका लागि सहयोग पुर्याउने प्रतिवद्धता गरे ।