
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने मकवानपुर घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं बस्ने सल्यान घर भएका ३२ वर्षीय टेक बहादुर घर्ती मगर र भक्तपुर बस्ने तनहुँ घर भएका ४५ वर्षीय बिमल आले रहेका छन् ।
पक्राउ परेकामध्ये अशोकले युएइ पठाइदिन्छु भन्दै ६ जना पीडितहरुबाट ११ लाख ४० हजार रूपैयाँ, टेक बहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार रूपैयाँ र बिमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा टेक बहादुरलाई टोखा नगरपालिका-७ बाट र बिमललाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।