
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरबाट छानिएका १७ सडकमध्येको एक हो ।
४४ करोड २४ लाख लागतमा निर्मित ४ दशमलव ८६ किलोमिटर सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका कामसक्ने अभियानमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गरे ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्वपूर्ण विषयमा निःशुल्क ‘अनलाइन’ कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए । आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्नेगरी केही विरोधीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरेकामा आपत्ति जनाउँदै उनले यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरु शेरधन राई, उद्धव थापालगायत सहभागी थिए ।