
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका बस्ने ४४ वर्षीय रबिन्द्र बासुकला, काठमाडौं बस्ने मोरङ घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र काठमाडौं नरेफाँट बस्ने धनुषा घर भएका ४७ वर्षीय अरूण राज शर्मा रहेका छन् ।
पक्राउ परेका मध्ये रबिन्द्रले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ६० हजार रूपैयाँ तथा लक्ष्मण र अरूणले युके पठाइदिन्छु भन्दै ३८ जना पीडितहरूबाट ११ करोड ६ लाख ९७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रबिन्द्रलाई भक्तपुर नगरपालिका ब्यासीबाट सोमबार तथा लक्ष्मण र अरूणलाई काठमाडौं महानगरपालिका नरेफाँटबाट आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।