-1746758550.jpeg)
काठमाडौं । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ ।
रिभर ट्यूबिङ्गबारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठुला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । सुरुवाती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएका थिए ।
‘माझी किङ’ यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन् । उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, ‘नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं ।’ रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको छ । दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरूको पनि स्वाद लिन सकिनेछ । पर्यटकहरूको सुविधाका लागि अनुभवी प्लेफुल राइड अर्गनाइजर, सुरक्षा उपकरण र मेडिकल किटको व्यवस्था समेत गरिएको जनाइएको छ ।
यसका साथै उद्घाटनको अवसरमा पहिलो महिनाभरि आउने पर्यटकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ । यो सेवाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यमन माझीको यो नयाँ प्रयासले नेपाली पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ । भविष्यमा देशका अन्य नदीहरूमा पनि यस्तो सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी गराए ।