Aarthikaina
फर्पिङ दक्षिणकाली बुकलेट सार्वजनिक

काठमाडौं । जातीय संस्कृति अन्वेषक पदम श्रेष्ठद्वारा लिखित फर्पिङ दक्षिणकाली बुकलेट शनिवार दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतद्वारा सार्वजनिक गरिएको छ । शाक्त, शैव र बौद्ध पर्यटन हवको रुपमा प्रवद्र्धनार्थ लिखित सो पुस्तिका फर्पिङ दक्षिणकाली क्षेत्रको पहिचानलाई उजागर गर्न ठुलो टेवा पुग्ने मेयर बस्नेतले बताए ।

सुकुण्डा ल्याय्म्ह पुचःका अध्यक्ष ध्रुव श्रेष्ठको सभापतित्वमा आयोजित सो विमोचन समारोहमा उपमेयर बसन्ती डङगोल तामाङ, ९ वडाध्यक्ष अमृका बलामी, ५ वडाध्यक्ष श्यामबहादुर खत्रीको उपस्थिति थियो । विमोचन कार्यक्रममा पुर्ख्यौली जमिन नबेचौं, कृषि पर्यटनलाई व्यापारमा लगाऔं अभियानका अभियन्ता प्रेमराज बासुकलाले फर्पिङ बस्ती भित्रका ७ टोलमा रञ्जना लिपिको ढुङगे स्तम्भ स्थापना गर्न ३२ हजार रुपैयाँ रकम प्रदान गरेका थिए । कार्यक्रममा फर्पिङग क्षेत्रमा रही विभिन्न रचनात्मक कार्यमा संलग्न समाजसेवा गर्दै आइरहेका म्याथ टिचर ध्रुव श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

२२ वर्ष अगाडि सम्पदा संस्कृति बारेको लेख संकलन गरी लिखित पुस्तक नेपाल मण्डल सम्पदा पुस्तकबाट पर्यटन प्रवर्द्धनार्थ, फर्पिङ दक्षिणकाली बुकलेट प्रकाशन गरिएको हो । माताको दर्शनार्थमा आउने भक्तजनहरुलाई यस क्षेत्रमा रहेका धार्मिक सम्पदास्थल भ्रमण गराउने लक्ष्य राखिएको छ । बुक लेटमा गोपालकालिन सम्पदास्थल गोपालेश्वर र नजिकै आदिवासी राजा बाणासुर र उनकी छोरी उषा मैयाँको दरवारको भग्नाबशेष समेटिएका छन् । त्यसैगरी, नेपालकै पहिलो दक्षिण एसियाको दोस्रो विद्युत पावर हाउस चन्द्र नहर पोखरी, फर्पिङबासीलाई रोग लाग्नबाट बचाउने बज्रयानी धर्म गुरु ओदियानाचार्यद्वारा स्थापित बज्रयोगिनी मन्दिर समेटिएका छन् । 

त्यसैगरी, बुकलेटमा गुरु गोरखनाथको पदचिन्ह, असुरा गुफा र त्यो भन्दा माथि प्राचीन दक्षिणकालीको भव्य सम्पदास्थल भ्रमणका लागि सचित्र बर्णन गरिएको छ । फर्पिङ देश भित्रै किरातकालिन राजा पब्बि अर्थात पचली भैरबको दरवार, ३३ कोटी देवी देवताको संयुक्त स्वरुपको मन्दिर झसु भम्केश्वरी र फर्पिङकै सबैभन्दा पुरानो बसु बर्माकालिन शिलापत्र अन्नपुर्ण भगवती मन्दिरको एक कुनामा र अर्को कुनामा राजा जयस्थिति मल्लका छोरा राजा धर्म मल्लको शिलापत्र समेटिएका छन् ।

फर्पिङलाई ऐतिहासिक, पुरातात्विक, सास्कृतिक र आर्थिक उत्थानमा टेवा पुर्याउने उद्देश्य राखिएको बुकलेटभित्र फर्पिङबाट ३ कि.मी.मात्र पुर्वोत्तर वलामी झाक्रीद्वारा स्थापित दक्षिण मनकामना, लिच्छविकालमा उपत्यकाको चार भञ्ज्याङमा स्थापित चार नारायाणमध्ये एक शेष नारायण र संगै दोस्रो बुद्धका रुपमा लिईने महायानी धर्म गुरु पद्मसंभवले समेत सिद्धता प्राप्त गरेको असुरा गुफा रहेको तथ्य सार्वजनिक गरिएको छ । यहि पवित्रताका कारण फर्पिङको डल्लुमा एक सय ८ फिट अग्लो महायानी धर्मगुरु पद्मसम्भवको विशालकाय मुर्ती र सयौँ कोठाका ध्यानागार गुम्वा निर्माण हुन सकेको तथ्यबारे उपस्थित वक्ताहरुले बोलेका थिए ।

फर्पिङ क्षेत्रका विज्ञ कार्तिक नाच प्रवन्ध समितिका सचिव भरत वलामी, फपिं पर्यटन समितिका अध्यक्ष श्रीकृष्ण मानन्धर, फर्पिङ जात्रापर्वका जिम्वाल सुरेन्द्र मानन्धरको समेत सुझाव, सम्पादन रहेको सो बुकलेट विमोचन समारोहमा शिखरापुर कलेजका प्रिन्सिपल निरोज श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update