Aarthikaina
नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा कोइराला

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (संघ)को ३८औँ साधारणसभाले सन्तोष कोइरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । बैंकर अशोक शेरचनले उम्मेदवारी फिर्ता लिएसँगै कोइराला अध्यक्ष चयन भएका हुन् । बुधबार संघले एक कार्यक्रम गर्दै आफ्नो ३८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । १४ वर्षदेखि बैंकर्स संघमा सहमतिमै अध्यक्ष चयन हुँदै आएको छ । अन्तिम पटक २०६७ माघमा संघको अध्यक्षको लागि निर्वाचन भएको थियो । संघमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी अध्यक्ष थिए । उपाध्यक्ष कोइराला अध्यक्ष भएपछि सो पदमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी चयन भएका छन् । त्यस्तै, रिक्त सदस्य पदमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डे चयन भएका छन् । एक कार्यकाल पूरा गरेका एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सदस्यमा निरन्तरता दिएका छन् ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष राजन सिंह भण्डारीलाई सम्मानपत्र प्रदान गरियो । भण्डारीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्ष, नेपाल बैंकर्स संघको अध्यक्ष, नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकलगायत अन्य विभिन्न ओहोदामा रही आर्थिक, मौद्रिक, बैंकिङ तथा वित्तीय क्षेत्रको विकास र सुधार कार्यक्रमलाई अगाडि बढाउन र समन्वय गर्न योगदान पुर्‍याएका छन् । यसैगरी गएको एक वर्षमा बैंकिङ क्षेत्रबाट बिदा भएका रत्नराज बज्राचाय र किरण कुमार श्रेष्ठलाई उनीहरूको योगदानको कदर गर्दे सम्मान पत्र प्रदान गरियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सम्बोधन गर्दै नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा धेरै नै पारदर्शी रहेको बताए । नेपाल राष्ट्र बैंकले ल्याउने सुधारका नीतिहरू बैंकिङ क्षेत्रलाई अप्ठ्यारो बनाउन नभई सबल बनाउने दिशामै केन्द्रित हुने उनले बताए । नेपाल बैंकर संघका नवनिर्वाचित अध्यक्ष कोइरालाले संघ सबैको साथ र सहयोगको साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update