Aarthikaina
आकर्षक तलबमा विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका आदमटार घर भई काठमाडौं महानगरपालिका नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४१ वर्षीय कार्तिकलाल राजवंशी रहेका छन् । 

पक्राउ परेकामध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख रूपैयाँ लिएको, पदमले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख रूपैयाँ र कार्तिकलालले अल्बानिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट सात लाख ७० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनीहरुलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रविनलाई काठमाडौं काँडाघारीबाट र पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार तथा कार्तिकलाललाई काठमाडौं दरबारमार्गबाट सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update