Aarthikaina
विनियोजित चार अर्ब बजेटको आधा रकमलाई कार्यान्वयन गर्नेमा गृहकार्य गरिराखेको छु: मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालयमा विनियोजित चार अर्ब बजेटबाट झण्डै आधा तलबलगायतका शिर्षकमा मात्र खर्च हुने भएकाले बाँकी रकमलाई कसरी कार्यान्वयन गर्न सकिएला भन्नेमा गृहकार्य गरिराखेको बताएका छन् । नेपाल तामाङ घेदुङद्वारा आइतवार राजधानीमा आयोजित सम्मान तथा शुभकामना समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

मन्त्री तामाङले आफुले जिम्मेवारी सम्हालेको मन्त्रालयले  नागरिक उड्डयनसहित वृहत क्षेत्रको प्रवद्र्धन, उत्थानमा काम गर्नुपर्ने तर बजेटको सीमा एकदमै न्यून भएकाले पनि आफु सोच्न बाध्य भएको बताए । उनले सांस्कृतिक, धार्मिक पर्यटनमा टेवा पुर्याउने नेपालको ऐतिहासिक सम्पदाहरु, २०७२ को भूकम्पले ध्वस्त भई अझै पुनर्निर्माण भईनसकेको दुई सय २५ वटा गुम्बाको मात्र पुर्ननिर्माण गर्न चार अर्ब रुपैयाँ बजेट निकाशा गर्नुपर्ने हिसाब प्राप्त भएको अवस्थामा कसरी खर्च व्यवस्थापन गर्न सकिएला अर्थात थोरै बजेटमा देशका सबै जाति भाषा धर्म संस्कृतिको प्रवद्र्धनलाई समेट्न सकिएला भन्नेमा सुझाव दिन आव्हानसमेत गरे । मन्त्री तामाङले धर्म, संस्कृतिको प्रवद्र्धनसँगै, पर्यटन प्रवद्र्धनका लागि दलगत विचारभन्दा माथि उठेर एकजुट हुन आग्रह गरेका छन् ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

सो अवसरमा पूर्वराजदूत गणेश योन्जनले नेपालीको धार्मिक, सांस्कृतिक, भाषिक विविधतालाई सम्बोधन हुने योजना, कार्यक्रमलाई प्राथमिकतामा राखेर धार्मिक/सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र समुदायसँग सहकार्य गर्न सुझाव दिए । उनले देशमा अझैपनि एकल भाषा, धर्म, संस्कृति लाद्ने परम्परा कायमै रहेकोले देशको विविध धर्म संस्कृतिको पहिचान उजागर हुनेगरी विश्वभर राजदूतावासमार्फत वुद्ध जयन्ती, ल्होसार, न्हुँद, माघी, दसैँ तिहारलगायतका पर्वको पनि आयोजना गरी संस्कृति मन्त्रालयले पर्यटन प्रवद्र्धन गर्न सक्ने सुझाव दिए । 

पूर्व पर्यटन राज्यमन्त्री परशुराम वाइवाले विविधतापूर्ण नेपाली संस्कृति आफैंमा धनी रहेको बताउँदै मन्त्रालयले तिनै धार्मिक, सांस्कृतिक सम्पदाको प्रवद्र्धनका आवश्यक नीतिगत र बजेट राखेर सहयोग गरेर नेपालीको हौसला बढाउनुपर्नेमा जोड दिए । 

सो अवसरमा मन्त्री तामाङको कार्यकाल रचनात्मक कामहरूसहित सफल होस् भन्ने कामना गर्दै लामा घेदुङ र संस्कृति घेदुङका पदाधिकारीले मन्त्र तथा ताम्बा बचनहरूको वाचन गरेका थिए । साथै विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले खादा, टटेलाको फूलको माला, सगुन प्रदान गरी शुभकामना दिदैँ कार्यक्रममा नेपालमा तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले मन्त्री तामाङ घेदुङको सल्लाहकार समेत रहेकाले घेदुङको सांस्कृतिक साझा घर बनाउने पहलका लागि सरकारको नीतिभित्र रहेर सहयोग गर्न आग्रह गरे ।

घेदुङका सह–अध्यक्ष कुमार सिंह घिसिङले मन्त्री तामाङको कार्यकालमा  धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक तथ्य, प्रमाणका आधारमा महत्वपूर्ण तर ओझेलमा परेका सम्पदाहरूको प्रवद्र्धनको कामको थालनी होस् भन्ने विचार व्यक्त गरेका थिए । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update