Aarthikaina
बैंकको कुनैपनि शाखा कार्यालयहरु बन्द हुँदैनन: एनआईसी एशिया बैंक

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै आएको एनआईसी एशिया बैंकका बारेमा केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित ‘बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बैंकले जानकारी गराएको छ । बैंकले प्रेस विज्ञप्तिमार्फत यस्तो ध्यानाकर्षण भएको जानकारी गराएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंकले बिगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ । वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखाकार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाखभन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको व्यहोरा सबैमा अवगत नै रहेको छ । हाल विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउँदै सो बाट भ्रमित नहुनु हुन सम्पूर्ण सरोकारवाला महानुभावहरूमा बैंक परिवार हार्दिक अनुरोध गर्दछ ।’

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले आफ्ना कुनै पनि शाखाकार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको स्पष्ट्याएका छन् ।

साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा अन्य बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा एनआइसी एसिया बैंकले शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको समेत जानकारी गराएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update