Aarthikaina
सांसद सुनिल शर्माले दाङमा गरेको नि:शुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

दाङ । सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुँईंचो लागेको छ । बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरिएको थियो । 

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसहित लुम्बिनी प्रदेश पुगेका संघीय सांसद सुनिलकुमार शर्माले चिराघाटमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरलाई संवोधन गर्दै जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन सक्नुपर्ने बताए । राज्यले जनतालाई नि:शुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा असफल भएको चर्चा गर्दै राज्य जनताप्रति जवाफदेही बन्न नसकेको जिकीर गरे । उनले शिविरबाट ओ.टी. रेफर भएका बिरामीहरुलाई काठमाडौं मेडिकल कलेजमा नि:शुल्क अपरेशन गरिने पनि बताए ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

शिविरमा बोल्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले स्वास्थ्य क्षेत्रमा सांसद सुनिलकुमार शर्माले पुर्याएको योगदानको चर्चा गर्दै राज्यले ग्रामिण क्षेत्रको स्वास्थ्य सुधार गर्न बढी ध्यान दिनुपर्ने बताइन् । उनले व्यक्तिगत प्रयासबाट गरेका समाज सेवा र स्वास्थ्य सेवाबाट हज्जारौं नागरिक लाभान्वित भएको बताउँदै बढी श्रोत र साधन भएको सरकारको भूमिका कमजोर रहेको जनाइन् ।

शिविरमा एक सय ७६ जनाको भिडियो एक्सरे, एक सय ४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, एक सय ४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

शिविरमा स्त्री तथा प्रसुति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नीलगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरबाट ओ.टी. रेफर भएकाहरुलाई सांसद शर्माले केएमसीमा नि:शुल्क उपचारको व्यवस्था गरेका छन् ।

गाउँमै काठमाडौंबाट विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन सो क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु भीड लागेको थियो । स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको थियो । उक्त टोलीले बुधबार प्यूठानको गौमुखी गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update