Aarthikaina
एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र सचिव डा.राम प्रसाद घिमिरेसहित निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसँग वृहत अन्तरक्रिया गरेको हो ।

एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता एवं पर्याप्त जनचेतना नहुँदा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीको उपस्थितीमा चेम्बरका पदाधिकारी एवं निजी क्षेत्रका एक सय ५० भन्दाबढी उद्यमी व्यवसायीहरुले सहभागिता जनाएका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले मन्त्री भण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिको आधारमा मात्रै एमआरपीलाई कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले भने, ‘वाणिज्य आपूर्ति एवं उपभोक्ता संरक्षण विभागले केही समयदेखि बजारमा कडा अनुगमन शुरु गरेको छ र एमआरपी उल्लेख नभएको पाईएमा अधिक जरिवाना लाग्ने गरेको छ ।’ देशमा अधिकांश उपभोग्य सामानका लागि आयातमा नै निर्भर हुनुपरेकाले एमआरपी लेवलको व्यवस्था आयातित वस्तुहरुको हकमा लागू गर्न निकै कठिन हुने अध्यक्ष अग्रवालले बताए ।

भन्सारमा सन्दर्भ मूल्यको व्यवस्था कायमै रहेकाले भन्सार प्रयोजनका लागि विश्व व्यापार संगठनको मान्यता अनुसार कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालले बताए । उनले व्यवसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्याधिक जरिवाना गरी अनुगमन गरेको क्रियाकलापले व्यवसायिक वातावरण थप बिग्रन सक्ने बताए । उनले भने, ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई बञ्चित हुन नदिनु तथा बजार र माल बस्तुबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरु अगाडी बढाईनुपर्ने अहिलेको आवश्यक्ता देखिएको छ ।’

कार्यक्रममा निजी क्षेत्रका अधिकांश पदाधिकारीहरुले निजी क्षेत्रका एमआरपी र लेवलिङको नाममा भएको अनुगमनका कारण व्यवसायीले अनावश्यक दुःख पाउनुपरेको गुनासो गरेका थिए । एमआरपीको बारेमा अधिकांश व्यवसायी र उद्यमीलाई जानकारी समेत नभएको उनीहरुको भनाई थियो । 

चेम्बरमा आयोजित छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरुसंगको समन्वयमा अविलम्व थप छलफल गरेर मात्रै एमआरपी कार्यान्वयन प्रक्रियालाई आवश्यक्ता अनुसार अघि बढाईने बताए । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update