
काठमाडौं । इंग्लिस प्रिमियर लिगको पावरहाउस चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधि जितेको छ । फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० ले हराउँदै चेल्सीले विश्व च्याम्पियनको ताज पहिरिएको हो ।
मेटलाइफ स्टेडियममा भएको फाइनल खेलमा चेल्सीका स्टार खेलाडी कोल पाल्मरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले खेलको २२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै ३० औँ मिनेटमा पाल्मरले दोस्रो गोल थपे भने उनले एक असिस्ट पनि प्रदान गरेका थिए ।
तेस्रो गोल भने टोलीको सामूहिक प्रयासको नतिजा थियो, जसले पीएसजीको रक्षापंक्तिलाई पूर्णरूपमा निस्तेज बनायो । चेल्सीले खेलभरि बल पोजिसन र आक्रमणमा प्रभुत्व जमाएको थियो ।
पीएसजीले केही अवसर सिर्जना गरे पनि चेल्सीका गोलकिपर सान्चेजले उत्कृष्ट बचाउ गर्दै क्लिन सिट राखेका थिए । प्रशिक्षकको रणनीति र खेलाडीहरूको तालमेलले चेल्सीले युरोपेली च्याम्पियन पीएसजीलाई सहजै पराजित गर्यो ।
प्रशंसकहरूले सामाजिक सञ्जालमा चेल्सीको यो ऐतिहासिक जितको खुलेर प्रशंसा गरेका छन् । यसअघि चेल्सीले सन् २०२२ मा पनि क्लब विश्वकप जितेको थियो । यो जितसँगै चेल्सीले विश्व फुटबलमा आफ्नो दबदबा कायम राखेको छ ।