
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था परिसंघको बुधबार राजधानीमा सम्पन्न २२औं वार्षिक साधारणसभाले पाण्डेलाई सर्वसम्मतिका आधारमा अध्यक्षमा निर्वाचित गरेको हो ।
सो साधारणसभाबाट यसअघिका वरिष्ठ उपाध्यक्ष पाण्डे परिसंघको विधानअनुरूप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका नवनिर्वाचित अध्यक्ष पाण्डे २०७५ सालमा परिसंघको उपाध्यक्ष भएका थिए ।
पुर्खौली घर काभ्रे भए पनि काठमाडौंमा जन्मेका पाण्डे विगत तीन दशकदेखि निरन्तर निर्माण उद्योग क्षेत्रमा सक्रिय छन् । सिभिल इन्जिनियरिङ, आवास र सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दखल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।
परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई बुधबार नै शपथग्रहण गराउँदै पदभार हस्तान्तरण गरेका छन् । निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मत रूपमा ७ जना उपाध्यक्ष चयन भएका छन् । सो साधारणसभाबाट परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी निर्वाचित भएका छन् । यसैगरी, उपाध्यक्षहरूमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनीत भएका छन् ।
सो साधारणसभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपालकुमार अग्रवाल, मिलनबाबु मल्ल, परासी अग्रवाल, राहुलकुमार अग्रवाल, वरुणकुमार तोदी, दीपककुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाणकुमार चौधरी, आकाश गोल्छा निर्वाचित भएका छन् ।
यसैगरी, राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित हुने व्यवसायीहरूमा विकास दुगड, विक्रम सिंघानिया, अमितकुमार बेगानी, गौरव शारडा, दिलीप अग्रवाल, यश अग्रवाल, सन्दीप शारडा र राजीव गुप्ता छन् ।
त्यस्तै, सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, धुर्व रिजाल, सञ्जय गोल्छा, वर्षा श्रेष्ठ, राजबहादुर शाह, विदूषी राणा, लक्ष्मीप्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनीषकुमार खेम्का, आशीष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्तबहादुर चन्द र चन्द्र टण्डन पनि परिषद् सदस्यमा निर्वाचित भएका छन् ।
त्यसैगरी, कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बाग्मती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशका अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्यमा चयन भएका छन् ।
परिसंघको मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रूपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएका छन् ।
नवनिर्वाचत अध्यक्ष पाण्डेले परिसंघ अध्यक्षको पदभार ग्रहण गर्दै परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पु¥याउन आफूले सक्दो प्रयास गर्ने बताए । उनले निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।
सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । यसअघि मंगलबार आयोजित साधारणसभा उद्घाटन समारोहमा सीएनआई प्रेसिडेन्ट अवार्डबाट परिसंघका पूर्वअध्यक्ष एवं प्रतिष्ठित उद्योगी शतिसकुमार मोरलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा परिसंघबाट निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । साफ्टाअन्तर्गत हुने निर्यातमा योगदान दिने आरएमसी फुडस् प्रालि, गणपति वनस्पति लिमिटेड, नारायणी वेल रिभाइनरी उद्योग प्रालि सम्मानित भएका छन् । तेस्रो मुलुकतर्फ निर्यातमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एन्ड लजिस्टिक प्रालि, एसेन्ट एक्स्पोर्ट्स प्रालि, स्मुथ कार्गो मुभरर्स प्रालि सम्मानित भएका छन् ।
इन्डो नेपालअन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रीप्स् प्रालि, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डस्ट्रिज लिमिटेड सम्मानित भएका छन् ।
यसैगरी, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघअन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् । त्यस्तै, सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बाग्मती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरेका थिए । सो साधारणसभामा परिसंघका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद् विनोदकुमार चौधरी, पूर्वअध्यक्षहरूलगायतले आआफ्ना धारणा राखेका थिए ।