-1750558744.jpg)
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा प्रशासन तथा लेखा सम्बन्धी तालिम शनिबारदेखि बूढानीलकण्ठमा सुरु भएको छ । तालिमको खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले एक कार्यक्रमबीच उद्घाटन गर्दै विभिन्न क्षेत्रका विज्ञको संलग्नतामा बेला बेलामा तालिम आयोजना हुनु पर्नेमा जोड दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यालयको दैनिक कामकाज सहज बनाउन तीन दिनमा फाइलको विषय टुंगो लगाउने, फाइल ट्रयाकिङ सिस्टम र पौडी पोखरीमा इ टिकटको सुरुआत गरेको बताउदै प्रशासनीक कामकाजमा सुधार गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गरे । दुईदिने तालिममा ५४ कर्मचारी सहभागी छन् ।
सहभागीलाई खेलकुद मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटीले योजना तर्जुमा र सार्वजनकि खरिद प्रक्रिया, खेलकुद मन्त्रालयका उप–सचिव जगदीश पराजुलीले वित्तिय व्यवस्थापन र भ्रष्टचार नियन्त्रण, महालेखा परिक्षक कार्यालयका नायब महालेखा परिक्षक शंकरप्रसाद पन्थी तथा निर्देशक केदारप्रसाद खकुरेलले आन्तरिक नियन्त्रण प्रणाली, लेखा परिक्षण, अन्तिम लेखा परिक्षण, बेरुजु र फछ्र्यौट, महालेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले पाम्स सम्बन्धी विविध पक्ष बारे जानकारी गराएका थिए ।
दोश्रो तथा अन्तिम दिन कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नियन्त्रक विष्णुहरि वाग्लेले लेखा प्रणालीमा सूचना प्रविधिको प्रयोग सम्बन्धी ज्ञान दिने छन् ।