Aarthikaina
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित

काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामीले मिनेसोटा युनाइटेड एफसीसँग ४-१ गोल अन्तरको फराकिलो हार बेहोरेको छ । एलियान्ज फिल्डिमा घरेलु टोली मिनेसोटालाई जित दिलाउन बोन्गोकुहले ह्लोंगवाने, एन्थोनी मार्कानिच र रोबिन लोडले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।  मियामीका लागि कप्तान लियोनल मेसीले एक गोल फर्काएका थिए ।

खेलको ३२औं मिनेटमा कार्लोस हार्भीको पासमा बोन्गोकुहले ह्लोंगवानेको गोलमार्फत मिनेसोटाले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा मार्कनिचले टोलीको अग्रता दोब्बर बनाएका थिए । निकोलस रोमेरोले उपलब्ध गराएको बललाई मर्कानिचले हेडमार्फत जाली चुमाएका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

मियामीका कप्तान लियोनल मेसीले ४८औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । उनले जोडी अल्बाको पासलाई सदुपयोग गरेका थिए । मार्सेलो विगान्ड्टबाट ६८औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा मिनेसोटा ३-१ गोलले अगाडि बढ्यो ।

रोबिन लोडले ७०औं मिनेटमा गोल गदै मिनेसोटालाई ४-१ गोल अन्तरको सहज जित दिलाएका थिए । उनले तानी ओलुवासेयीको पासलाई वान टचमै गोल लाइन पार गराए । जितसँगै १२ खेलमा २२ अंक जोडेको मिनेसोटा वेस्टर्न कन्फिरेन्सको दोस्रो स्थानमा छ । पराजित मियामी ११ खेलबाट २१ अंकका साथ इस्टर्न कन्फिरेन्सको चौथो स्थानमा छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update