Aarthikaina
श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि ल्याउनुपर्नेमा चेम्बरको जोड
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रमिकवर्गको सुरक्षा, लगानीमैत्री वातावरणमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएको छ । मे १ अर्थात १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षलाई सम्मान गरेको खण्डमा देशको आर्थिक अवस्था समृद्धि हुनेमा जोड दिएको हो ।

साथै, चेम्बर सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको भन्दै नेपालको संविधान २०७२ ले श्रमसम्बन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको र सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा चेम्बरले जोड दिएको छ । श्रमसम्बन्धी ऐन नियमहरुमा समयसापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ ।

चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसंग माग गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वस्थ्य सेवामा श्रमिको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जुरुरी छ ।’ सरकार, निजी क्षेत्र र श्रमिकवर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update