Aarthikaina
फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै

भक्तपुर । भक्तपुरमा पहिलो पटक हुन लागेको फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडल विजेता खेलाडी भिड्ने भएका छन् । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा हुन लागेको पहिलो राष्ट्रव्यापी फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगितामा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जित्ने १३ खेलाडी भिड्ने भएका हुन् ।

खेलका लागि बुधवार भएको अन्तिम नामावली दर्ता तथा तौल मापन पस्चात खेलमा १३ जना स्वर्ण पदक विजेता खेलाडी पनि सहभागी हुन लागेको प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिए । उनका अनुसार हालसम्म १३ स्वर्ण ल्याउने खेलाडीहरू तथा थाइल्यान्डमा सम्पन्न भएको अन्ताराष्ट्रिय खेलमा नेपालका तर्फबाट कांस्य पदक जित्ने ३ खेलाडी पनि भक्तपुरमा जारी खेलमा सहभागी हुन लागेको उनले बताए ।

Berger Paints Nepal
NLG Insurance
Chiba Education Center

उनका अनुसार साउथ एसियन च्याम्पियनसिप, साफ गेम अन्तर्राष्ट्रिय खेलहरूमा, खुल्ला गणेशमान सिंह किक बक्सिङ प्रतियोगितामा, मंगदादेवी किक बक्सिङ प्रतियोगितालगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण विजेता खेलाडीदेखि कांस्य र रजत विजेता खेलाडीहरू पनि भक्तपुरमा जारी खेलमा सहभागिता जनाउन आएपछि खेल रोचक हुने भएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुषतर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३ दशमलव ५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिकस्तरका खेल) समेत खेलाइने अध्यक्ष ले जानकारी दिए । यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उनले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताए ।

खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर एक सातासम्म लागू हुने गरी २ लाखसम्मको बिमा समेत गरेको छ । उनका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घ(वाको)द्वारा स्वीकृत के–१  नियमावली अनुसार सञ्चालन हुनेछ । प्रत्येक बाउट ३ राउन्डको हुनेछ र प्रत्येक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको समेत उनले जानकारी दिए । प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उनले जानकारी दिए ।

भक्तपुरका खेलाडीलाई दिइयो एन्टी डोपिङको कक्षा 

भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङ प्रतियोगिताको पूर्व सन्ध्यामा सहभागी खेलाडी तथा भक्तपुरका खेलाडीहरूलाई एन्टी डोपिङको विषयमा कक्षा लिइएको छ । कक्षामा डोपिङ के कस्तो अवस्थामा हुन्छ । के के को सेवनले तथा खेलाडीले प्रतिबन्धित चिजहरू बोक्दा हुन्छ भन्ने विषयमा जानकारी दिइएको थियो । सामान्य सिटामोलदेखि लागु औषधसम्मको प्रयोग गर्दा समेत डोपिङमा खेलाडी पर्न सक्ने एन्टी डोपिङ अवारनेस सेन्टरका संस्थापक डा.आसिस भण्डारीले जानकारी दिए । उनले खेलाडीहरूले के के सेवन गर्दा प्रतिबन्धमा पर्न सकिन्छ र प्रतिबन्धमा परेको खण्डमा के कस्तो असर पर्छ भन्ने विषयमा समेत कक्षा दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update