काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालय पोशाक बाहेकका पोशाक किन्न नलगाउन परिपत्र जारी गरेको छ । महानगरले शुक्रबार सबै विद्यालयलाई परिपत्र जारी गर्दै नियमित विद्यालय पोशाक बाहेकको पोशाक किन्न नलगाउन भनेको छ ।
काठमाडौंका निजी विद्यालयले विद्यार्थीलाई चाडपर्व अनुसार पोशाक किन्न लगाउने गरेका थिए । महानगरले भनेको छ, ‘केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोशाक बाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ ।’
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले गरेको परिपत्रमा यस विपरीत विद्यार्थीलाई अन्य पोशाक किन्न बाध्य पारेमा कारबाही गरिने चेतावनी दिइएको छ ।
परिपत्रमा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधन सहित) र अन्य प्रचलित कानून बमोजिम दण्डसजाय हुने बेहोरा समेत जानकारीका लागि अनुरोध छ ।’











